१५ अर्ब लगानीमा सौर्य सिमेन्ट

Shaurya Cement Industries and Ambe Steels

मुलुकमा सिमेन्ट उत्पादनको इतिहास लामो छैन । सन् १९७४ मा सरकारी लगानीमा खुलेको हिमाल सिमेन्ट मुलुककै पहिलो उद्योग हो । पहिलो सिमेन्ट खुलेको आधा शताब्दी हुँदा मुलुक यो उद्योगमा आत्मनिर्भर बनेको छ । आधा दशकको इतिहासमा आत्मनिर्भर हुने कमै क्षेत्र मध्ये सिमेन्ट परेको छ ।

स्वदेशी बजार प्रयाप्त भएर होला आत्मनिर्भर भए पछि पनि सिमेन्टमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण कत्ति घटेको छैन । पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालन भइरहेको अवस्थामा करिब १५ अर्ब रुपैयाँको लगानीमा अर्को नयाँ सिमेन्ट उद्योग भर्खरै सञ्चालनमा आएको छ । त्यो हो ‘सौर्य सिमेन्ट उद्योग’ । मुलुकमा पूर्वाधार निर्माणले गति लिने अपेक्षाका साथ सिमेन्ट उद्योगमा लगानी बढेको देखिन्छ।

सिमेन्टको माग बढ्ने अपेक्षाले निर्माण सामग्री उत्पादन गर्दै आएका व्यापारिक घरानाले नयाँ उद्योग सञ्चालनमा ल्याएका हुन् । मुलुकका प्रमुख तीन व्यापारिक घराना मिलेर यो उद्योग खोलेका छन् । शंकर समूह, अम्बे समूह र गोल्छा ग्रुपले करिब १५ अर्ब रुपैयाँ लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । जगदम्बा, अम्बे सिमेन्ट, डन्डी उत्पादन गर्दै आएका पुराना कम्पनी हुन् ।

मुलुकका प्रमुख तीन व्यापारिक घराना मिलेर यो उद्योग खोलेका हुन् । शंकर समूह, अम्बे समूह र गोल्छा ग्रुपले करिब १५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग निर्माण गरेका हुन् । जगदम्बा, अम्बे सिमेन्ट, डन्डी उत्पादन गर्दै आएका पुराना कम्पनी हुन् ।

उद्योगको प्लान्ट सिराहाको मिर्चैया कर्जन्हामा छ । दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताए । ‘बजारमा सिमेन्टको माग बढ्ने अपेक्षामा नयाँ उद्योग सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘वार्षिक एक मिलियिन टन उत्पादन गर्ने क्षमता छ ।’ सौर्य सिमेन्ट उद्योगको तीन हजार टन क्लिंकर उत्पादन गर्ने क्षमता छ । यो उद्योग पूर्वको सबैभन्दा धेरै क्षमताको उद्योग भएको अग्रवालको दाबी छ ।

पूर्वाञ्चलमा आफ्नै क्लिंकर भएका सिमेन्ट उद्योग कम भएकाले क्लिंकर सहित सिमेन्ट उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । मुलुकको पूर्व क्षेत्रको बजार लिन सजिलो हुने अग्रवालले बताए । ‘पूर्वमा आफ्नै क्लिंकर भएका सिमेन्ट उद्योग थोरै छन्,’ उनले भने, ‘बजार विस्तार गर्न सजिलो छ ।’

सौर्यले ओपिसी ५३, ४३ ग्रेड, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरेको छ । उद्योगले अहिलेसम्मकै अत्याधुनिक प्रविधि प्रयोग गरेको दाबी गरेको छ । अहिले सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरूमध्ये सबैभन्दा उच्च प्रविधि प्रयोग गरेको अग्रवालले बताए । ‘प्लान्टमा लेटेष्ट जर्मन प्रविधि प्रयोग गरेका छौं,’ उनले भने, ‘उद्योग फूल अटोमेसनमा सञ्चालन हुन्छ ।’

सौर्यको जस्तो उच्च प्रविधिको एकीकृत प्रविधियुक्त प्लान्ट अन्य उद्योग नभएको दाबी गरिएको छ । सौर्य सिमेन्टको चुनढुंगाको खानी उदयपुरको कटारीमा रहेको छ । उद्योगमा उदयपुर ब्राण्डको चुनढुंगा प्रयोग गरेको अग्रवालले बताए । ‘उदयपुरको चुनढुंगा उच्च गुणस्तरको छ,’ उनले भने, ‘गुणस्तरीय कच्चा पदार्थ भएकाले सिमेन्ट पनि गुणस्तरीय छ ।’ ५० वर्षलाई पुग्ने चुनढुंगा खानी रहेको बताइएको छ ।

यो सिमेन्ट उद्योगको प्लान्ट पूर्ण स्वचालित छ । स्वचालित प्रणालीमा सञ्चालनमा रहेको उद्योगको प्रयोगशाला पनि रोवकिट छ । मुलुकको पूर्वी क्षेत्रलाई लक्षित गरेर उद्योग सञ्चालनमा ल्याएको हो । सौयले रोबटिक प्रयोगशाला निर्माण गरेको छ । यहाँ खानीबाट चुनढुंगा ल्याएपछि स्वचालित रूपमा नमुना परीक्षण हुन्छ । सिमेन्टका बोरा स्वचालित मेसिनबाट ट्रकमा लोड गर्ने व्यवस्था मिलाइएको छ ।

सौर्यले नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगलेभन्दा केही फरक गुणस्तरको सिमेन्ट पनि उत्पादन गरेको दाबी गरेको छ । ठूला पूर्वाधार परियोजनामा प्रयोग गर्ने लोएल क्लाई सिमेन्ट उत्पादन गरेको अग्रवालले बताए । ‘नेपालमा पहिलो पटक लोएल क्लाई सिमेन्ट उत्पादन गरेका छौं,’ अग्रवालले भने, ‘ठूला ड्याम परियोजनामा यस्तो सिमेन्ट आवश्यक हुन्छ ।’ ठूला परियोजनामा प्रयोग हुने डन्डीमा खिया लाग्ने भएकाले त्यसबाट बचाउन यो सिमेन्ट प्रयोगमा ल्याउन सकिने उनले बताए । ‘गुणस्तरीय सिमेन्ट भएन भने डण्डीमा जंक लाग्छ,’ उनले भने, ‘लोएल क्लाई सिमेन्ट प्रयोग गर्दा यस्तो समस्या आउँदैन ।’ गुणस्तरीय सिमेन्ट उत्पादन गरेकाले बजारमा राम्रो पकड हुने उनको दाबी छ ।

नयाँ उद्योग आउँदै

सञ्चालनमा रहेका उद्योगले पनि लगानी थपिरहेका छन् । केही उद्योगले अर्बौं रुपैयाँ लगानी गरेर नयाँ उद्योग ल्याउँदैछन् । सञ्चालनमा रहेका उद्योगले बजार नपाउँदा पूर्ण क्षमतामा चल्न नसकेको बताए पनि ठूलो लगानीमा उद्योग स्थापना भइरहेका छन् । दुई सिमेन्ट उद्योगले नयाँ लगानीका लागि लगानी बोर्डबाट यसै वर्ष स्वीकृत लिएका छन् ।

दाङ सिमेन्ट उद्योगका लागि ३२ अर्ब ५० करोड र दाङकै सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरेका छन् । उद्योगीहरूले सिमेन्टमा अब नयाँ लगानी आवश्यक नरहेको बताउँदै आइरहेका बेला अन्य दुई उद्योगले लगानी अनुमति पनि लिएका हुन् । दाङमा रहेको सम्राट सिमेन्टले क्षमता विस्तार गर्न नयाँ लगानी स्वीकृती लिएको हो ।

३ वर्षअघि ग्राइन्डिङ युनिट स्थापना गरेको उद्योगले क्लिकंरसहितको प्लान्ट लगाउन लगानी थपेको हो । सम्राटले दैनिक चार हजार टन क्लिन्करसहितको सिमेन्ट उत्पादनका लागि क्षमता विस्तार गर्न लागेको हो । सम्राटले दाङकै बंगलामुखी गाउँपालिकामा ९ सय ५० रोपनी सरकारी जग्गा लिजमा लिएर चुनढुंगा निकाल्ने भएको छ । सम्राटले अहिले दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Source: Nagarik News

© Ambe Group. All Rights Reserved.
Website by: Curves n' Colors