अम्बे समूहले तीन महिनाभित्र ल्याउँदैछ विलेट उद्योग, दैनिक साढे सात सय टन उत्पादन क्षमता

Shiwaj Neupane Director Ambe Steels

अम्बे समूहले नेपालगंजमा सवा अर्ब लगानीमा विलेट उद्योग संचालनमा ल्याउने भएको छ।दुई वर्ष अघि तीन अर्ब लगानीमा जय अम्बे डन्डी उद्योग संचालनमा ल्याएको यो समूहले तीन महिनाभित्रै विलेट उद्योग संचालनमा आउनेछ। १६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको हो। सिमेन्ट र डन्डी उद्योगमा पायोनियर यो समूहको भैरहवामा अम्बे स्टील समेत छ। अम्बे स्टीलमा ८ वर्षअघिनै मेल्टिङ युनिट(विलेट उत्पादन गर्ने प्लान्ट) संचालनमा आइसकेको छ।

जय अम्बे उद्योगका संचालक शिवाज न्यौपानेले विलेट उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाएको बताउँदै तीन महिनाभित्र उत्पादन सुरु हुने जानकारी दिए। 'हामीले विलेट उद्योग स्थापनाको प्रक्रिया थालेको १० महिना भइसकेको छ,' उनले बिजमाण्डूसँग भने, 'हामीले चाँडैमा दुई र ढिलोमा तीन महिनाभित्र विलेट उत्पादन थाल्नेछौं।'

यो उद्योगबाट दैनिक ७ सय ५० टन विलेट उत्पादन हुनेछ। '२५ टनका तीन वटा युनिट हुनेछ। यो युनिटबाट दैनिक साढे सात सय डन्डी उत्पादन हुनेछ,' न्यौपानेले भने, 'उत्पादन भएको विलेट आफ्नै उद्योगमा प्रयोग गर्छौं।'

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनको भन्सार शुन्यमा झार्दै विलेट आयातको अन्त:शुल्क बढाएको थियो। सरकारी नीतिपछि उद्योगबाट उत्पादित बिलेट बिक्री समेत गर्ने उनले जानकारी दिए। 'सुरुमा आफ्नो लागि मात्रै भनेर उद्योग स्थापना गरेका थियौं। तर अहिले सरकारको नीतिले स्वदेशी उद्योगले समेत विलेट किन्न सक्ने अवस्था देखिएको छ,' न्यौपानेले भने, 'अब हामी कसैले किन्छ भने विलेट बनाएर समेत दिन्छौं।'

उनले आफ्नो उद्योगबाट उत्पादित विलेट गुणस्तरमा भारतीय भन्दा कम नहुने जिकिर गरे। 'हामीले उत्पादन गर्ने विलेट भारतबाट आयात भइरहेको भन्दा गुणस्तरमा कुनै कमी हुँदैन्। अझ हामीले गुणस्तर एसुरेन्स गरेर दिनेछौं।'

यो उद्योगका लागि ३६ मेगावाट विजुली खपत हुन्छ। 'विलेट उद्योगमा धेरै मुल्य अभिवृद्धि(भ्यालु एडिसन) हुन्छ। हाम्रै उद्योगलाई दैनिक ७ सय ५० टन विलेट उत्पादनका लागि ३६ मेगावाट विजुली चाहिन्छ,' न्यौपानेले भने, 'त्यो भन्दा वाहेक रोजगारी समेत सिर्जना हुन्छ।'

किलोमै तीन रुपैयाँ सस्तो

विलेट प्लान्ट हुँदा डन्डी उत्पादनमा किलोमै तीन रुपैयाँ सस्तो पर्छ। सरकारी नीतिले विलेट युनिट राख्न बाध्यकारी व्यवस्था भएपनि यसले डन्डी उत्पादकलाईनै फाइदा हुने न्यौपाने बताउँछन्।

'सरकारी नीतिको किन विरोध भइरहेको छ मैले बुझेको छैन। सरकारी नीति नआउँदै किलोमा तीन रुपैयाँ फाइदा थियो,' उनले भने, 'डन्डीमा तीन रुपैयाँ फाइदा भनेको ठूलो हो।'

न्यौपानेका अनुसार हिट चार्जिङ सिस्टम हुँदा तातातो विलेट सीधै डन्डी उत्पादन गर्ने युनिटमा राखिने भएकाले किलोमै तीन रुपैयाँ सस्तो पर्छ।

Source: Bizmandu

© Ambe Group. All Rights Reserved.
Website by: Curves n' Colors